कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा निर्माण गरिएका तीनवटा पक्की मोटरेबल पुल सञ्चालनमा आएका छन् । पुल निर्माण सम्पन्न भएसँगै फराकिलो सडक तर साँघुरा पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ ।
पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकाको पानीविहाडमा एउटा गरी तीनवटा पुल निर्माण सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतले जनाएको छ ।
याम्दी खोलामा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ ५२–५२ मिटर लम्बाइका दुईवटा नयाँ पुल निर्माण गरिएको हो । यस्तै, अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।
याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । तर, सडकको तुलनामा पुल साँघुरा हुँदा विपरीत दिशाबाट आउने सवारीसाधन पार गराउन कठिनाइ हुने तथा दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो ।
नयाँ पुल सञ्चालनमा आएसँगै सडकको चौडाइअनुसार सवारीसाधन आवतजावत गर्न सहज भएको कार्यालयले जनाएको छ । यसले यात्राको समय घटाउनुका साथै यातायातलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
तीनवटै पुल एउटै ठेक्कामार्फत निर्माण गरिएको हो । पुल निर्माणका लागि रु २१ करोड ५९ लाख ७८ हजार लागतमा विसं २०७९ साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता भएको थियो ।
मध्यपहाडी लोकमार्ग नेपालको मध्यपहाडी क्षेत्रलाई पूर्व–पश्चिम सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो । कास्की खण्डका यी पुल सञ्चालनमा आएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमतर्फ हुने यातायात थप सहज हुने भएको छ ।