कोशी सरकारमा नेकपाका ४ मन्त्री सहित १ राज्यमन्त्रीको छनौट

17 August, 2026 65 Views
कोशी सरकारमा नेकपाका ४ मन्त्री सहित १ राज्यमन्त्रीको छनौट
65

नेपाल कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्री तथा राज्यमन्त्रीको नाम र मन्त्रालयको जिम्मेवारी टुंगो लगाएको छ। पार्टी भित्र भएको आन्तरिक छलफलपछि सोमबार दिउँसो चार मन्त्री र एक राज्यमन्त्रीको नाममा सहमति जुटाइएको हो।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार पार्टीले सरकारमा सहभागी हुने नेताहरूको जिम्मेवारीसमेत स्पष्ट गरिसकेको छ। निर्णयअनुसार जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। आचार्य यसअघि पनि प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीज्वाइँसमेत हुन्।

त्यस्तै, गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ। गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने भएका छन्। खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।पार्टीले सपना दर्जीलाई भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाउने निर्णय गरेको छ। यससँगै नेकपाबाट कोशी प्रदेश सरकारमा सहभागी हुने पाँच जनाको जिम्मेवारी टुंगो लागेको हो।पार्टीका प्रदेश इञ्चार्ज राईका अनुसार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथ ग्रहण आजै अपराह्न ४ बजे गराउने तयारी गरिएको छ। शपथपछि उनीहरूले तोकिएका मन्त्रालयको औपचारिक जिम्मेवारी सम्हाल्नेछन्।

नेकपाले सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाएसँगै कोशी प्रदेश सरकारमा पार्टीको सहभागिता औपचारिक रूपमा अघि बढ्ने भएको छ। सरकारमा जाने मन्त्रीहरूको जिम्मेवारी बाँडफाँटले प्रदेश सरकारको आगामी कार्यदिशा र मन्त्रालयगत कामकारबाहीमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 
 

Related Post