किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन, बोके लालटिन र कालोपट्टी

13 August, 2026 11 Views
किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन, बोके लालटिन र कालोपट्टी
11

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन तथा धर्ना दिएको छ।

महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा बिहीबार भएको प्रदर्शनमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए। शान्तिपूर्ण रूपमा धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि केहीबेर प्रहरी र पत्रकारबीच घम्साघम्सीसमेत भएको थियो।

प्रदर्शनकारी पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनमा केही पत्रकारले बलिरहेको लालटिनसमेत बोकेका थिए।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

श्रेष्ठ पक्राउ परेको भोलिपल्टै बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासीसमेत गरेको थियो। महासंघले पक्राउ र कार्यालयमा गरिएको खानतलासी दुवैप्रति आपत्ति जनाउँदै विरोध गरेको छ।

श्रेष्ठको रिहाइको माग गर्दै महासंघले यसअघि बुधबार राति पनि काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेको थियो। महासंघले उनलाई विनाशर्त रिहा नगरे थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ।

श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय श्रेष्ठ निर्भीक र खरो पत्रकारका रूपमा परिचित छन्।

Related Post