किशोरीको डिम्ब निकालिएको घटनामा डा. नूतन शर्मासँग बयान

09 August, 2026 69 Views
किशोरीको डिम्ब निकालिएको घटनामा डा. नूतन शर्मासँग बयान
69

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा प्रहरीले वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्मासँग बयान लिएको छ। शुक्रबार बयान लिएपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले बताएका छन्।

प्रहरीका अनुसार असार १४ गते बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको थियो। घटनामा डा. शर्माको संलग्नता देखिएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो।

किशोरीको डिम्ब निकाल्ने चिकित्सक र बिचौलियामाथि अनुसन्धान गर्न माग गर्दै पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूबारे अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो। उनलाई पनि हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार किशोरीलाई ३० हजार रुपैयाँ दिएर उनको डिम्ब निकालिएको थियो। डिम्ब निकालिएपछि किशोरी बिरामी परेकी थिइन्। त्यसपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

डा. शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि दुई पटक अदालतसँग अनुमति मागेको थियो। तर अदालतले पक्राउको अनुमति नदिएपछि सरकारी वकिलको सहमतिमा उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाइएको एसएसपी कार्कीले बताएका छन्।

प्रहरीले घटनामा डा. शर्माको भूमिका, बिचौलियाको संलग्नता तथा किशोरीको डिम्ब निकाल्नुको उद्देश्यलगायत विषयमा थप प्रमाण संकलन गरिरहेको जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Related Post