कात्तिक,काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत रहने आदेश दिएको छ। यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेज गर्दै पाण्डेले दायर गरेको रिट निवेदन समेत खारेज गरेको हो।
उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीका अनुसार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको संयुक्त इजलासले पाण्डेको रिट निवेदनमा सुनुवाइ गर्दै सो निर्णय गरेको हो।
पाण्डेलाई काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यकक्षमा प्रवेश रोक लगाएको आरोपमा निलम्बन गरिएको थियो। आफूलाई गैरकानुनी रूपमा निलम्बन गरिएको भन्दै उनले अदालतमा रिट दायर गरेका थिए।
तर, उच्च अदालतले पाण्डेको दाबी अस्वीकार गर्दै उक्त निलम्बन वैधानिक रूपमा कायम रहने ठहर गरेको छ। यसअघि अदालतले उनलाई अस्थायी राहतका रूपमा अन्तरिम आदेश जारी गरेको थियो, तर अन्तिम सुनुवाइमा आएर सो आदेश खारेज गरिएको हो।