काठमाडौं । दसैंसहितका चाडपर्वमा उपभोक्तालाई एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको छ ।
यस व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गरिरहेको कम्पनीभन्दा फरक ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सक्नेछन् । यसका लागि उपभोक्ताबाट कुनै अतिरिक्त शुल्क नलिने बताइएको छ ।
बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि आफूसँग भएको सिलिन्डरको कम्पनी फरक हुँदा विशेषगरी एउटामात्र सिलिन्डर भएका उपभोक्ताले समस्या भोग्नुपरेको भन्दै नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार उपभोक्ताको सहजताका लागि निगमकै आग्रहमा ग्यास उद्योगीहरू यस्तो व्यवस्थाका लागि तयार भएका हुन् ।
‘बजारमा ग्यास आएको भए पनि सिलिन्डरको कम्पनी फरक भएकै कारण कतिपय उपभोक्ताले समस्या भोगिरहेका छन् । त्यसैले जनतालाई राहत दिन उद्योगीहरूलाई हामीले नै यस्तो व्यवस्था गर्न आग्रह गरेका हौं,’ साहले बताए ।
विगतमा फरक कम्पनीको सिलिन्डर साट्दा डिलरहरूले उपभोक्तासँग अतिरिक्त रकम लिने गरेको गुनासो आउने गरेको थियो । कतिपय अवस्थामा यस्तो शुल्क ३ सय रुपैयाँसम्म लिने गरिएको थियो । तर, नयाँ व्यवस्थामा भने उपभोक्ताबाट कुनै रकम नलिइने निगमले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका करिब १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी छ ।
यी काउन्टरमार्फत जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर ग्यास लिन सकिने व्यवस्था गरिनेछ । विभिन्न कम्पनीका सिलिन्डर उद्योगहरूबीच आन्तरिक रूपमा व्यवस्थापन तथा साटफेर गरिनेछ ।
घिमिरेका अनुसार नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायतका स्थानमा संयुक्त काउन्टर सञ्चालन गर्ने विषयमा उद्योगी, आयल निगम, विक्रेता महासंघ र सुरक्षा निकायबीच छलफल भइरहेको छ ।
वास्तविक उपभोक्तालाई मात्र सुविधा
उद्योगीहरूले यो सुविधा डिलर वा व्यवसायीका लागि नभई ग्यासको अभाव झेलिरहेका वास्तविक उपभोक्तालाई लक्षित गरेर ल्याउन लागिएको बताएका छन् ।
ग्यासको दुरुपयोग रोक्न काउन्टरबाट ग्यास लिन उपभोक्ताको पहिचान खुल्ने विवरण राखिनेछ । नागरिकता वा अन्य परिचयपत्रको प्रतिलिपि तथा मोबाइल नम्बर लिएर मात्र ग्यास उपलब्ध गराउने तयारी गरिएको घिमिरेले बताए ।
उनका अनुसार यसबाट वास्तविक उपभोक्ताले मात्र सुविधा पाउने र राज्यका निकायले समेत आवश्यक अनुगमन गर्न सक्नेछन् ।
डिलरबाटै साट्ने व्यवस्था भए झनै सहज
नेपाल आयल निगमले भने संयुक्त काउन्टरमा मात्र सीमित नगरी सम्भव भएसम्म डिलर तहबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न सके उपभोक्ताका लागि अझ सहज हुने जनाएको छ ।
कुन–कुन स्थानमा काउन्टर सञ्चालन गर्ने भन्ने विषयमा उद्योगीहरूबीच छलफल जारी छ । स्थानको अन्तिम टुंगो लागेपछि एक–दुई दिनभित्र औपचारिक सूचना सार्वजनिक गर्ने तयारी निगमको छ ।
दसैंका समयमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले यहाँ एलपी ग्यासको खपत सामान्य समयको तुलनामा करिब ४० प्रतिशतसम्म घट्ने गर्छ ।
तर, उपत्यकामै रहने र एउटामात्र सिलिन्डर प्रयोग गर्ने उपभोक्ताका लागि ग्यास सकिएपछि कम्पनी नमिलेकै कारण पसल–पसल धाउनुपर्ने समस्या हुने गरेको छ । नयाँ ‘एक्सचेन्ज’ व्यवस्थाले यस्ता उपभोक्तालाई चाडपर्वका बेला सहजता पुग्ने अपेक्षा गरिएको छ ।