काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा सरकार, निजी क्षेत्र, विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिसहित देशभरका करिब ४०० उद्यमी, व्यवसायी र सरोकारवालाको सहभागिता छ।
सम्मेलनमा वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन र प्रविधिको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने विषयमा छलफल भइरहेको छ।
सीबीफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले बैंक तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सहकार्य विस्तार गर्नुका साथै उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले युवालाई उत्पादन र रोजगारीसँग जोड्न स्टार्टअपका लागि बीउ पुँजी, वित्तीय पहुँच र उद्यममैत्री नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन्।
सम्मेलनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति निर्माण, लगानीको वातावरण सुधार तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।