क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
6

काठमाडौं । पर्सामा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना रहेका छन् । उनीहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्ने अन्यमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन् ।

त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका कर्मचारीहरू वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Post