मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवमा विद्यालयबाट घर फर्किंदै गरेका चार बालिका बासुदेव खोलामा आएको भेलमा बगेका छन्। घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। एक बालिकालाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो।
मंगलबार अपराह्न करिब ४ः४५ बजे निर्मल माध्यमिक विद्यालयबाट छुट्टी भएपछि चार बालिका घर फर्किंदै गर्दा खोला पार गर्ने क्रममा माथिल्लो भेगमा परेको भारी वर्षाका कारण पानीको बहाव अचानक बढेपछि उनीहरू भेलमा परेका हुन्।
घटनामा १३ वर्षीया सीमा भ्लोन खोलाको किनारमा रहेको झाडी समातेर ज्यान जोगाउन सफल भएकी हुन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
भेलमा बगेकी रेश्मा (रोशनी) स्याङ्तानको शव मंगलबार साँझ घटनास्थलबाट करिब ५०० मिटर तल फेला परेको थियो। बुधबार बिहान खोजीका क्रममा १२ वर्षीया विनिता भ्लोनको शव पनि भेटिएको छ।
कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुमित्रा भ्लोन अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको खोजीमा सुरक्षाकर्मी र स्थानीयवासी जुटिरहेका छन्।