पुनः पक्राउ पर्न सक्ने आशंकामा पत्रकार किशोर श्रेष्ठले आफूलाई पक्राउ नगर्न आदेश माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन्। श्रेष्ठ मंगलबार दिउँसो उच्च अदालत पुगेका हुन्।
उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा दिएको जाहेरीका आधारमा आफूलाई प्रहरीले पुनः पक्राउ गर्न सक्ने आशंका रहेको श्रेष्ठले निवेदनमा उल्लेख गरेका छन्।
श्रेष्ठले आफूलाई पक्राउ तथा नियन्त्रणमा नलिन र आफूले प्रयोग गर्दै आएका सञ्चार उपकरणसमेत बरामद नगर्न आदेश जारी गर्न अदालतसँग माग गरेका छन्।
यसअघि सर्वोच्च अदालतको परमादेशपछि श्रेष्ठ सोमबार मात्रै रिहा भएका थिए। रिहा भएको एक दिनपछि नै पुनः पक्राउ पर्न सक्ने आशंका व्यक्त गर्दै उनले उच्च अदालतमा निवेदन दिएका हुन्।
उपसभामुख ठाकुरले दिएको जाहेरी र त्यसपछि श्रेष्ठले अदालतमा दिएको निवेदनसँगै यो विषय थप कानुनी चासोको विषय बनेको छ। अब उच्च अदालतले श्रेष्ठको निवेदनमाथि सुनुवाइ गर्दै आवश्यक आदेश दिनेछ।