रुकुम पूर्व — भूमे गाउँपालिका–९ चुनबाङस्थित दोमै खोलाको भत्किएको पुल देखाउँदै १५ वर्षीया सदीक्षा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको छ।
भिडियोमा सदीक्षाले प्रचण्डलाई ‘हेलो प्रचण्ड बाजे, कता हुनुहुन्छ ?’ भन्दै आफ्नो गाउँको पुलको अवस्था देखाएकी छन्। उनले चुनाव जितेर गएपछि पनि पुलको अवस्था उस्तै रहेको भन्दै तत्काल पुल निर्माण वा मर्मत गर्न आग्रह गरेकी छन्।
उनका अनुसार पुल भत्किएपछि स्थानीयवासी खोलाबाटै आवतजावत गर्न बाध्य छन्। बर्खाको समयमा पानीको बहाव बढ्दा मानिस तथा पशुचौपाया बगाउने जोखिम रहेको उनले बताएकी छन्। सोही बाटो हुँदै विद्यालय जाने बालबालिकासमेत जोखिमपूर्ण रूपमा खोला तर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
आइतबार साँझ फेसबुकमा पोस्ट गरिएको भिडियोमा छोटो समयमै ठूलो संख्यामा प्रतिक्रिया र कमेन्ट आएका छन्। सदीक्षाले आफ्नो गाउँनजिकै रहेको पुल दुई महिनाअघि भत्किए पनि अहिलेसम्म मर्मत नभएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन भिडियो बनाएको बताएकी छन्।
भूमे गाउँपालिका–९ की सदीक्षा गैरीगाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्। गाउँबाट विद्यालय पुग्न उनलाई करिब एक घण्टा लाग्छ।
स्थानीयका अनुसार वर्षायाममा खोलाको बहाव बढ्दा पुल नहुँदा आवतजावत झनै जोखिमपूर्ण हुने गरेको छ। बालबालिकासहित स्थानीयको दैनिक आवतजावत प्रभावित भएकाले दुर्घटना हुनुअघि नै पुल मर्मत वा पुनर्निर्माण गर्नुपर्ने माग उठेको छ।
१५ वर्षीया किशोरीले सामाजिक सञ्जालमार्फत उठाएको यो विषयले स्थानीय पूर्वाधारको अवस्था र जनप्रतिनिधिको जवाफदेहिताबारे समेत बहस सिर्जना गरेको छ।