विश्व लामखुट्टे दिवस : ‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित नेपालमा विविध कार्यक्रम

20 August, 2026 53 Views
विश्व लामखुट्टे दिवस : ‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित नेपालमा विविध कार्यक्रम
53

काठमाडौं । ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नारासहित विश्व लामखुट्टे दिवस नेपालमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। लामखुट्टेको टोकाइबाट सर्ने रोगको जोखिम, रोकथामका उपाय तथा सरसफाइबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिस लगायतका रोग सर्ने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावट बढ्दै जाँदा उच्च हिमाली क्षेत्रसमेत कीटजन्य रोगको जोखिममा पर्न थालेका छन्।

विशेषगरी तापक्रम वृद्धि, अनियमित वर्षा र वातावरणीय परिवर्तनले लामखुट्टेको प्रजनन तथा विस्तारका लागि अनुकूल अवस्था सिर्जना गरिरहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। यसका कारण विगतमा सीमित भूगोलमा देखिने रोगहरू नयाँ क्षेत्रमा समेत फैलिने जोखिम बढेको छ।

कीटजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले देशका सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोग पहिचान, निगरानी तथा नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय नेपालका ५६ जिल्लामा कीटजन्य रोग देखापरिसकेको छ। उनका अनुसार लामखुट्टे तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि सरकारी प्रयाससँगै नागरिकस्तरबाट पनि सावधानी र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ।

लामखुट्टेको टोकाइबाट बच्न घर वरपर पानी जम्न नदिने, पानीका भाँडाकुँडा ढाकेर राख्ने, झुलको प्रयोग गर्ने, शरीर ढाकिने कपडा लगाउने तथा आवश्यकताअनुसार लामखुट्टे भगाउने साधन प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

Related Post