काठमाडौँ । लगातार भइरहेको वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सबै पहाडी जिल्लामा स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन गर्न रोक लगाएका हुन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा सडक अवरुद्ध हुनुका साथै बाढी तथा पहिरोको जोखिम बढेकाले सावधानीस्वरूप सवारी आवागमन रोकिएको हो।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरी यात्रुलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्। तराईका कैलाली र कञ्चनपुरमा भने तुलनात्मक रूपमा जोखिम कम रहेकाले सवारीसाधन सञ्चालनमा छन्।
ट्राफिक प्रहरीले सूचना नपाई पहाडतर्फ जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेकाले प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।