लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
प्रदेशसभाका कायम ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए। बहुमतका लागि आवश्यक मत प्राप्त भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएको घोषणा गरेका हुन्।
आचार्यलाई नेकपा एमालेका २९, नेकपाका १२ मध्ये ११, जनता समाजवादी पार्टी नेपालका ५ मध्ये ४ र राष्ट्रिय जनमोर्चाका १ सांसदले समर्थन गरेका छन्।
प्रदेशसभामा आठ जना सांसद अनुपस्थित रहे भने तीन जना तटस्थ बसे। सत्ता पक्षकै एक सांसद विदेशमा रहेकाले मतदानमा सहभागी हुन सकिनन्। जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित रहिन्।
अनुपस्थित हुनेमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा रहेका छन्।
लुम्बिनीमा एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन्। नेपाली कांग्रेस र जनमत पार्टी विपक्षमा रहेका छन् भने राप्रपा तटस्थ छ।
जसपा नेपाललाई पार्टी केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले भने एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। जसपाका चार सांसदले समर्थन नगरेको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने अवस्था थियो।