काठमाडौँ, २१ जेठ
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि आफू व्यक्तिगत रूपमा ढल्न तयार रहेको तर कसैका सामु घुँडा नटेक्ने दृढता व्यक्त गर्नुभएको छ। बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको विशेष कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभक्ति र राष्ट्रियताको आन्दोलनबाट आफू पछि नहट्ने दाबी गर्नुभयो।
सम्बोधनका क्रममा निकै आक्रामक रूपमा प्रस्तुत हुनुभएका ओलीले भन्नुभयो, "म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्नेवाला छैन। मेरो शिर काटिन सक्छ तर प्रतिक्रियावादीका अगाडि हात उठाउनेवाला छैन।" उनले आफू विगत ६० वर्षदेखि देश र जनताको हकहितका लागि निरन्तर लड्दै आएको स्मरण गराउँदै त्यो सङ्कल्पमा अलिकति पनि कमी नआएको स्पष्ट पार्नुभयो।
पछिल्लो राजनीतिक घटनाक्रम र सीमा विवादका विषयमा कडा टिप्पणी गर्दै अध्यक्ष ओलीले देशको राष्ट्रिय स्वाधीनता र अखण्डताका सवालमा कुनै पनि प्रकारको सम्झौता (कम्परमाइज) नगरिने बताउनुभयो। बाह्य र आन्तरिक प्रतिक्रियावादी शक्तिहरूले जतिसुकै धाकधम्की दिए पनि एमाले देश झुक्ने कुनै पनि कामको साक्षी नबस्ने उहाँको भनाइ थियो।
प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको पहिलो औपचारिक र ठुलो सम्बोधन गरिरहनुभएका ओलीले वर्तमान सरकारका कतिपय असमझदारीपूर्ण कदम र अभिव्यक्तिप्रति पनि तीव्र आक्रोश पोख्नुभएको छ।