काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै सानोठिमीस्थित परिषद्को केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, अहिले काम गरिरहेको पदमा निरन्तर काम गर्न पाउनुपर्ने र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ।
समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा फर्काउनुपर्ने माग गरेको छ। त्यस्तै, करारमा कार्यरत कर्मचारीलाई दसैँ पेस्की, पोसाक, तालिम, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा दिनुपर्ने माग पनि समितिको छ।
मासिक ज्यालादारी कर्मचारीलाई अहिले काम गरिरहेको अवस्थामा नै निरन्तर काम गर्न दिनुपर्ने र पोसाकलगायतका सुविधा उपलब्ध गराउनुपर्ने समितिले जनाएको छ। उनीहरूको काम वा सेवाको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने पनि समितिको माग छ।
आन्दोलनमा सहभागी भएको आधारमा कुनै पनि श्रमिकमाथि विभेद, पूर्वाग्रह वा प्रतिशोधपूर्ण व्यवहार नगर्न समितिले व्यवस्थापनसँग आग्रह गरेको छ।
श्रमिकहरूले आफ्ना माग पूरा गर्ने लिखित प्रतिबद्धता, त्यसको कार्यान्वयन गर्ने समयसीमा र स्पष्ट कार्ययोजना माग गरेका छन्।
व्यवस्थापनसँग विवाद बढाउनेभन्दा पनि संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको समितिले जनाएको छ। तर, माग पूरा नभएसम्म आन्दोलन र खबरदारी जारी राख्ने समितिको भनाइ छ।