११ महिनामै २ खर्ब ७३ अर्बको पेट्रोलियम आयात, ग्यास आयात ९ प्रतिशत घट्यो

23 June, 2026 147 Views
११ महिनामै २ खर्ब ७३ अर्बको पेट्रोलियम आयात, ग्यास आयात ९ प्रतिशत घट्यो
147

 चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले २ खर्ब ७३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार डिजेल, पेट्रोल र एलपी ग्यास आयातमा ठूलो रकम बाहिरिएको हो।

तथ्यांकअनुसार सबैभन्दा बढी डिजेल आयात भएको छ। समीक्षा अवधिमा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बराबरको १२ लाख ६४ हजार ८ सय ७८ किलोलिटर डिजेल नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १३ लाख १२ हजार ९ सय ५ किलोलिटर डिजेल आयात हुँदा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ मात्र खर्च भएको थियो। यसले परिमाण घटे पनि मूल्यवृद्धिका कारण खर्च उल्लेख्य रूपमा बढेको देखाउँछ।

यस्तै, ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बराबरको ६ लाख ८५ हजार १ सय २७ किलोलिटर पेट्रोल आयात भएको छ। गत वर्षको यही अवधिमा ६ लाख ८१ हजार ४ सय ८४ किलोलिटर पेट्रोल आयात गर्दा ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ खर्च भएको थियो।

खाना पकाउने एलपी ग्यासतर्फ ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँ बराबरको ४७ करोड ५९ लाख ८० हजार किलो ग्यास आयात गरिएको छ। यद्यपि ग्यास आयात खर्च भने गत वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँको ग्यास आयात भएको थियो।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा एलपी ग्यास आयात रकम ८.९८ प्रतिशतले घटेको छ। तर अन्तर्राष्ट्रिय बजारमा जारी युद्ध, भूराजनीतिक तनाव तथा अमेरिकी डलरको मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको आयात लागत बढ्दा नेपालको व्यापार घाटा र सोधनान्तर स्थितिमा थप दबाब परेको देखिएको छ।

Related Post