काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको दोस्रो बैठक महाधिवेशनको समीक्षामै केन्द्रित भएपछि लम्बिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो २ बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले पहिलो कार्यसूचीअन्तर्गत सम्पन्न महाधिवेशनबारे आफ्नो धारणा राखिरहेका छन्।
रास्वपाका नेता गणेश पराजुलीका अनुसार अपराह्न ४ः२५ बजेसम्म करिब आधा केन्द्रीय सदस्यहरूले मात्रै आफ्नो धारणा राखिसकेका छन्। पहिलो कार्यसूचीमै विस्तृत छलफल भइरहेकाले बैठक अझै केही समय लम्बिने अवस्था रहेको उनले बताए।
उनका अनुसार बैठकको सुरुवातमा सभापति रवि लामिछानेले कुनै विशेष ब्रिफिङ गरेका छैनन्। अहिले सदस्यहरूले महाधिवेशनको समग्र समीक्षा, त्यसका उपलब्धि, कमजोरी र आगामी सुधारका विषयमा आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्। पहिलो कार्यसूची नै नसकिएकाले अन्य एजेन्डामा प्रवेश हुन बाँकी रहेको उनले जानकारी दिए।
बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको थियो। बैठकमा पाँच वटा कार्यसूची समावेश छन्। जसमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, संगठनात्मक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यसअघि बैठक सुरु हुनुअघि पार्टी सभापति रवि लामिछानेले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सस्मित पोखरेल, गीता चौधरी, निशा मेहता, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने र बिनिता कठायतलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
बैठकबाट महाधिवेशनपछिको संगठनात्मक कार्ययोजना, नयाँ कार्यविधि र आगामी राजनीतिक कार्यक्रमबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।