काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पियो गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जुरिखेतमा अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको हो।दुर्घटनामा मुख्य न्यायाधीश डाँगीसहित दुई महिला र चार पुरुष घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। गम्भीर घाइते महिलाबाहेक अन्य पाँच जनाको अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोली पनि घटनास्थल पुगेको छ।दुर्घटनामा परेको स्कार्पियो घटनास्थलमै रहेको छ भने सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।