माओवादी बैठकमा प्रचण्ड : पदको लोभ छैन र अध्यक्षबाट पछि हट्नेपनि सोचेको छैन

25 September, 2025 126 Views
माओवादी बैठकमा प्रचण्ड :  पदको लोभ छैन र अध्यक्षबाट पछि हट्नेपनि सोचेको छैन
126

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमा पदको लोभ नभए पनि अहिले जिम्मेवारीबाट पछि हट्ने अवस्था नरहेको बताएका छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको पार्टीको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्र, पार्टी र क्रान्तिको लागि अन्तिमसम्म लडिरहने प्रतिबद्धता जनाए । ‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘राष्ट्र, क्रान्ति र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’

उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाइ कायम गर्न आवश्यक रहेको पनि बताए । पछिल्ला दिनमा महासचिव जनार्दन शर्माले राजीनामा दिनुपर्ने भन्दै दबाब बढाइरहेका बेला प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । आजको बैठकबाट उक्त प्रस्ताव अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाइने तयारी छ।

प्रचण्डले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड दिने हो।’

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार गठन हुने वातावरण नभएको ठहर गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ मा चुनावको मिति तोकिएको छ। प्रचण्डले पार्टीले उक्त चुनाव समयमै सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

Related Post