काठमाडौं । नेपालमा अटोमोबाइल बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्रान्डसँगै नेपाली उत्पादनलाई पनि एउटै मञ्चमा प्रस्तुत गरिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन्। नाडाको ५०औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको यसपटकको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्ड सहभागी छन्।
आयोजकका अनुसार अटो शोमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरिँदैछन्। विभिन्न ब्रान्डका नयाँ विद्युतीय तथा पेट्रोलियम सवारीसाधनसँगै नेपाली उत्पादनसमेत प्रदर्शनीको मुख्य आकर्षण बनेका छन्।
विशेषगरी नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ लाई नेपाली अटोमोबाइल क्षेत्रको बढ्दो उत्पादन क्षमताको प्रतिनिधिका रूपमा प्रस्तुत गरिएको छ। नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई विदेशी ब्रान्डका मोडलसँगै प्रदर्शन गरिनुले नेपालमा अटोमोबाइल व्यवसाय आयात र बिक्रीमा मात्र सीमित नरहेको सन्देश दिन खोजिएको आयोजकको भनाइ छ।
यसै उद्देश्यले प्रदर्शनीमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन निर्माण गरिएको छ। उक्त प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री राखिएका छन्। नाडाका अनुसार करिब आठ नेपाली उत्पादकले यस क्षेत्रमा सहभागिता जनाएका छन्।
प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री उत्पादन गर्ने कम्पनी सहभागी छन्। यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना विस्तार हुँदै गएको बताए। उनका अनुसार पछिल्लो समय नेपालमा सवारीसाधनको बिक्री तथा सर्भिसिङसँगै पार्टपुर्जा आपूर्ति र उत्पादनसम्बन्धी गतिविधिसमेत बढिरहेका छन्।
‘नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन। हामी विस्तारै आत्मनिर्भरता र स्वदेशी उद्यमतर्फ अघि बढिरहेका छौँ,’ उप्रेतीले भने।
नाडाका अनुसार पाँच दशकअघि नेपालमा गाडी व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको संस्था अहिले सवारीसाधन बिक्री गर्ने व्यवसायीमा मात्र सीमित छैन। सवारीसाधन बिक्री, एसेम्बल, वित्तीय सुविधा, बीमा, सर्भिसिङ तथा पार्टपुर्जा आपूर्तिसम्मका व्यवसायलाई समेट्ने प्रतिनिधिमूलक संस्थाका रूपमा नाडाको भूमिका विस्तार भएको छ।
अटो शोमा प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायतका ब्रान्ड सहभागी छन्।
लाइट कमर्सियल सवारीतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स सहभागी छन्।
दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायतका ब्रान्डले सहभागिता जनाएका छन्।
सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायतका सामग्रीका २०० भन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ र इन्टरनेसनल बिजनेस प्याभिलियनलगायतका क्षेत्रमा विभाजन गरिएको छ।
अटो शोमा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ। प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ।
यसपटकको अटो शोमा एकातिर विदेशी ब्रान्डका नयाँ मोडल र विद्युतीय सवारीसाधनको बढ्दो उपस्थिति देखिएको छ भने अर्कोतर्फ नेपाली उत्पादनलाई छुट्टै प्राथमिकता दिइएको छ। त्यसैले प्रदर्शनीलाई नेपालमा अटोमोबाइल बजारको स्वरूप आयात र बिक्रीबाट क्रमशः उत्पादन तथा औद्योगिक गतिविधितर्फ विस्तार हुँदै गएको संकेतका रूपमा समेत हेरिएको छ।