नागढुंगा सुरुङमार्ग साउनभित्रै सञ्चालनमा आउने

10 August, 2026 53 Views
नागढुंगा सुरुङमार्ग साउनभित्रै सञ्चालनमा आउने
53

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गरिने भएको छ। सडक विभागले सुरुङमार्ग सञ्चालन गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको जनाएको छ।

हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा छ। सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक इन्जिनियर शुभराज न्यौपानेका अनुसार सर्वसाधारण र सार्वजनिक यातायातका लागि खुला गर्नुअघि सुरुङभित्र आपत्कालीन अवस्था आएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा परीक्षण भइरहेको छ।

विशेषगरी ठूलो संख्यामा यात्रु बोकेको बसमा आगलागी भएमा उनीहरूको सुरक्षित उद्धार कसरी गर्ने भन्ने विषयमा परीक्षण गरिनेछ। सुरुङभित्र आपत्कालीन अवस्था आएपछि उद्धारको प्रक्रिया कस्तो हुने भन्ने अभ्यास पनि गरिने विभागले जनाएको छ।

सुरुङमार्गमा अहिले ब्यारिकेड र ड्रम राखिएका तस्बिर सार्वजनिक भइरहेका छन्। विभागका अनुसार ती सामग्री सुरुङमार्ग बन्द गर्न नभई सुरक्षा परीक्षण र अन्तिम तयारीका लागि राखिएका हुन्।

प्रवक्ता न्यौपानेका अनुसार एउटा अन्तिम सुरक्षा परीक्षण पूरा भएपछि सुरुङमार्ग सबैका लागि खुला गरिनेछ। त्यसका लागि साउन महिनाभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको साउनको दोस्रो साता औपचारिक उद्घाटन गरिएको थियो। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ‘जाइका’का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा विशेष समारोहबीच सुरुङमार्ग उद्घाटन गरिएको हो।

करिब सात वर्षपछि उद्घाटन भएको सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामा हुने सवारी चाप कम हुने, यात्रा समय बचत हुने तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Post