काठमाडौं । काठमाडौंको निजामती सिभिल अस्पताल प्रशासनले अस्पतालभित्रको भिडभाड, बिरामीको चाप र सेवा प्रवाहका फोटो तथा भिडियो खिच्न रोक लगाएको छ। बिहीबार रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई समेत प्रशासनको पूर्वअनुमति बिना फोटो वा भिडियो खिच्न नदिइएको हो।
अस्पतालका सुरक्षाकर्मीका अनुसार पछिल्लो समय अस्पतालका फोटो र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक हुन थालेपछि प्रशासनले यस्तो व्यवस्था लागू गरेको हो। प्रशासनको अनुमति लिएपछि मात्रै अस्पतालभित्र फोटो र भिडियो खिच्न पाइने उनीहरूले बताएका छन्।
यस विषयमा प्रतिक्रिया लिन सञ्चारकर्मी अस्पताल प्रशासन पुगे पनि सम्बन्धित अधिकारी बैठकमा रहेका कारण आधिकारिक धारणा प्राप्त हुन सकेन।
यता, केही बिरामी र सेवाग्राहीले भने अस्पतालको वास्तविक अवस्था बाहिर नआओस् भन्ने उद्देश्यले फोटो र भिडियो खिच्न रोक लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
पछिल्लो समय सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप, लामो लाइन, बेड अभाव र सेवा व्यवस्थापनका समस्या बारम्बार उठ्दै आएका छन्। यिनै विषयका फोटो र भिडियो सार्वजनिक भएपछि केही सरकारी अस्पतालले अनुमति बिना दृश्य खिच्न रोक लगाउन थालेका छन्।