काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याबिन क्रु प्रजिता कार्की र सिर्जना केसीले आफूहरूमाथि कार्यस्थलमा लैङ्गिक विभेद, मानसिक हिंसा र दुर्व्यवहार भएको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्। सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै आफूहरूलाई ड्युटीबाट हटाइएको भन्दै उनीहरूले काम गर्ने अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
उनीहरूका अनुसार सर्वोच्च अदालतमा परेको रिट केही दिनअघि खारेज भए पनि फैसलाको पूर्णपाठ आएको छैन। यसैबीच श्रम अदालतको फैसला र अन्तरिम आदेशअनुसार काममा फर्किएका आफूहरूको नाम रोस्टरबाट हटाएर ड्युटीबाट रोकिएको उनीहरूको दाबी छ।
कार्की र केसीका अनुसार नेपाल एयरलाइन्सले कर्मचारी प्रशासन विनियमावलीमा क्याबिन क्रुलाई ५० वर्षसम्म काम गर्न पाउने व्यवस्था भए पनि आफूहरूलाई ४५ वर्षमै सेवाबाट हटाइएको थियो। त्यसविरुद्ध कार्की श्रम अदालत पुगेकी थिइन् भने केसीको हकमा पनि सेवा सुचारु गर्न अन्तरिम आदेश आएको उनीहरूले बताएका छन्।
उनीहरूले क्याबिन क्रुको उमेर हद र सेवासुविधासम्बन्धी व्यवस्था विभेदपूर्ण रहेको दाबी गर्दै यसलाई संशोधन गर्नुपर्ने मागसमेत गरेका छन्। आफूहरूको विषय व्यक्तिगत विवाद मात्र नभई अन्य क्याबिन क्रुको अधिकारका लागि पनि आवाज उठाउँदै आएको उनीहरूको भनाइ छ।
कार्की र केसीले आफूहरूमाथि भएको भनिएको विभेद, मानसिक हिंसा र दुर्व्यवहारबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न र काम गर्ने अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरेका छन्।