नेपाल जेसीजद्वारा ‘प्रोजेक्ट संकल्प २०२६’ दुई दिने कार्यशाला सम्पन्न

05 April, 2026 75 Views
नेपाल जेसीजद्वारा ‘प्रोजेक्ट संकल्प २०२६’ दुई दिने कार्यशाला सम्पन्न
75

काठमाडौं । नेपाल जेसीज ले “प्रोजेक्ट संकल्प २०२६” लाई सफल, सबल र प्रभावकारी बनाउने उद्देश्यसहित दुई दिने कार्यशाला गोष्ठी तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

“एकताको संकल्प, रूपान्तरणको यात्रा” भन्ने मूल नाराका साथ राजधानी काठमाडौंस्थित यलो प्यागोडा होटल मा शुक्रबार र शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा वर्ष २०२६ का लागि मनोनित राष्ट्रिय पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्र जीवन कार्की को अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा लगानी बोर्ड नेपाल का प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली को उपस्थिति रहेको थियो। आफ्नो मन्तव्यमा ज्ञवालीले युवाहरूको सशक्त संस्था जेसीजसँग सहकार्य गर्दै राष्ट्र निर्माणका विविध क्षेत्रमा काम गर्न आफूहरू तयार रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो। यसमा राजेन्द्रराम श्रेष्ठ, फुलकुमार लालवानी, रविन पोखरेल लगायत पूर्व राष्ट्रिय अध्यक्षहरू तथा जेसीआई नेपाल फाउन्डेसन का अध्यक्ष विष्णु बराल को विशेष उपस्थिति तथा सहजीकरण रहेको थियो।

कार्यशालामा मनोनित पदाधिकारीहरूको भूमिका, जिम्मेवारी, अधिकार तथा वर्षभरि सञ्चालन गरिने कार्यक्रमहरूका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै “Aim, Act, Achieve” प्रकरण अन्तर्गत लक्ष्य निर्धारण, कार्यान्वयन रणनीति र उपलब्धि हासिल गर्ने विषयमा गहन छलफल तथा समूहगत प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य “प्रोजेक्ट संकल्प २०२६” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको जीवन कार्की ले बताए।

कार्यक्रममा सहभागीहरूले संगठनात्मक एकता, नेतृत्व विकास, व्यवसायिक सुदृढीकरण तथा सामाजिक प्रभाव विस्तार गर्ने विषयमा प्रतिबद्धता जनाएका थिए। समग्रमा, यो कार्यक्रमले नेपाल जेसीजको आगामी कार्यदिशा निर्धारण गर्दै युवाहरूलाई सक्रिय नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेको छ।

Related Post