काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठेको प्रश्नको गृहमन्त्री सुधन गुरुङले जवाफ दिन अस्वीकार गरेका छन्। राष्ट्रिय सभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले अनुसन्धानको प्रगति र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न उठाएका थिए।
जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले उक्त विषय संवेदनशील रहेको भन्दै अनुसन्धान जारी रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए। उनले यो विषयलाई संसद्मा बारम्बार उठाउनुभन्दा व्यक्तिगत रूपमा जानकारी लिन आग्रहसमेत गरे।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पुनः प्रश्न सोध्ने अवसर दिएका थिए। विश्वकर्माले प्रश्न सोध्नु आफ्नो संवैधानिक तथा संसदीय अधिकार भएको उल्लेख गर्दै निर्मला पन्तका हत्यारा कहिले पक्राउ पर्छन् भन्ने प्रश्न पुनः दोहोर्याए।
अध्यक्ष दाहालले गृहमन्त्रीलाई पुनः जवाफ दिन समय दिए पनि गृहमन्त्री गुरुङले "म यसको उत्तर दिन चाहन्नँ" भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरे।