काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ।
उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको मृत्यु भएको जानकारी दिएको हो।
वक्तव्यअनुसार दुर्घटनामा उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ, युक्ता र निमा शेर्पाको पनि ज्यान गएको छ। टोलीका अन्य केही सदस्यको पनि दुर्घटनामा मृत्यु भएको कम्पनीले जनाएको छ।
टोलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ।’
वक्तव्यमा निम्सदाइसहित दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, साथीभाइ र आफन्तप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ।
कम्पनीले निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रका महान् आरोहीमध्ये एक, साहस, विनम्रता र दृढ आत्मविश्वासका प्रेरणादायी नेताका रूपमा स्मरण गरेको छ। उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न उनले लाखौं मानिसलाई प्रेरित गरेको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘उनको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको स्थानमा पुर्यायो। उनले परिवर्तन ल्याएका असंख्य जीवन र प्रेरित गरेका मानिसहरूमार्फत उनको योगदान सधैं जीवित रहनेछ।’
ब्रड पिकमा बिहीबार बिहान ९:२० बजे आएको हिमपहिरोमा परेर १० जना पर्वतारोही सम्पर्कविहीन भएका थिए। कम्पनीले शनिबार उनीहरूमध्ये निम्सदाइसहित केही सदस्यको मृत्यु भएको पुष्टि गरेको हो।