निर्विवाद छैन जेन-जी आन्दोलनको नेतृत्व दाबी गर्ने ‘हामी नेपाल’

16 September, 2025 165 Views
निर्विवाद छैन जेन-जी आन्दोलनको नेतृत्व दाबी गर्ने ‘हामी नेपाल’
165

१ असोज, काठमाडौं । जेन-जी आन्दोलनले जन्माएको नयाँ सरकारकै राजीनामा माग्ने अवस्थामा आइपुगेका छन् सुदन गुरुङ, जो आफूलाई जेन-जीको नेतृत्व दाबी गर्छन् । यो परिवर्तन आफ्नै कारण आएको भन्दै फेरि उथलपुथल ल्याइदिने धम्की दिन्छन् ।

आइतबार राति मात्र बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडि सुशीला कार्कीको राजीनामा माग्दै सुदनले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

आफैँले प्रधानमन्त्रीमा सिफारिस गरेर प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोगेका उनी स्वयं दुई दिन नबित्दै राजीनामा माग्ने अवस्थामा आइपुगे । यसरी क्रमशः अस्थिर र अशान्त चरित्र देखाइरहेको उनको पृष्ठभूमि ‘हामी नेपाल’ भन्ने संस्थासँग जोडिन्छ । उनी हामी नेपालका संयोजक हुन् ।

सुदनले नेतृत्व गरेको यो संस्था पनि निर्विवाद देखिँदैन । सुरुवातदेखि विभिन्न संघ–संस्थासँग जोडिएका काम गरेको छ, जुन आफैँमा विवादित र शंकास्पद रहेको भन्दै टिप्पणी भइरहेका छन् ।
नेपालमा १२ वैशाख २०७२ मा ७.६ रेक्टरको ठूलो भूकम्प गयो, जसमा करिब ९ हजार जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भए । प्राकृतिक विपत्तीले देश संकटमा फस्यो ।

यही पृष्ठभूमिमा सुदनले २०० स्वयंसेवक जम्मा गरे, जुन पछि विस्तार भएर १ हजार ६०० जनाको समूह बन्यो । यी युवाहरूले काठमाडौँका अस्पतालहरूलाई व्यवस्थित गर्न रातदिन खटे । पछि, उनीहरूले नेपालका ४८ वटा दुर्गम स्थानमा पनि सहयोग पुर्‍याए । यही समूहले ‘हामी नेपाल’ नाममा एउटा औपचारिक थलो बन्यो ।

यसरी हामी नेपाल सन् २०१५ मा स्थापना भए पनि सन् २०२० मा मात्र दर्ता भएको देखिन्छ, दर्ता नम्बर ६०९७८९०६५० मा । गैर–नाफामूलक संस्थाको रूपमा दर्ता भएको यसले दाताहरूलाई सिधै सहयोग चाहिनेहरूसँग जोड्ने यसको वेबसाइटमा उल्लेख गरिएको छ । हामी नेपालले जनाएअनुसार यसका सबै स्वयंसेवकहरू आफ्नै खर्चमा काम गर्छन् ।

‘हाम्रो मुख्य उद्देश्य भनेको कुनै हिचकिचाहट वा प्रतिफलको अपेक्षा नराखी आवश्यकता भएकालाई सहयोग गर्नु हो,’ हामी नेपालले भनेको छ ।

हामी नेपालले उल्लेख गरेअनुसार यसले अहिलेसम्म ५४ करोड ९८ लाख १७ हजार १२० रुपैयाँ प्राप्त गरेको देखिन्छ, जसमा अब ६३ लाख ५२ हजार रुपैयाँमात्र बाँकी छ । वेबसाइटमा यसको खर्च कहाँ र कसरी भयो भनेर स्पष्ट खुलाइएको छैन । जति खुलाइएको छ, त्यसअनुसार हिसाब गर्दा गडबड देखिन्छ ।

Related Post