नारायणीको बाढीले सुस्ता डुबानमा, २९ जनाको उद्धार

70

काठमाडौं । नारायणी नदीको बहाव बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलमा बाढी पसेको छ। बाढीमा फसेका २९ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा खटिएको २१ जनाको टोलीले आज बिहान उद्धार गरेको हो। टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ।

उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता–५ स्थित होल्डिङ सेन्टरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि बाढीका कारण थारुटोलका ७८ परिवारसहित सैनिक र बड्का टोलका थप ८५ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

नारायणीको जलस्तर बढिरहेकाले सुस्ताका अन्य बस्तीसमेत जोखिममा छन्। निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै निर्माण हुन बाँकी रहेकाले नदी कटानको जोखिमसमेत रहेको स्थानीयले बताएका छन्।

Related Post