काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको सीप तथा कार्यक्षमता अभिवृद्धिका लागि आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यशालामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंह, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुखसहित ३०० भन्दा बढी कर्मचारी सहभागी भएका थिए ।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो प्रविधिसँगै कर्मचारीको क्षमता विकासलाई कम्पनीले प्राथमिकतामा राखेको बताइन् । उनले एआई तथा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी ज्ञान कर्मचारीका लागि आवश्यक बन्दै गएको भन्दै यस्ता क्षेत्रमा लगानी बढाउने बताइन् ।
कार्यशालामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारीलाई ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्रदान गरिएको थियो । अवार्ड पाउनेमा शिवेश ठाकुर, गीता कुमारी थिङ, रुक्मणी कुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाही रहेका छन् ।
उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकको विश्वास कायम राख्न सहज, छिटो र सम्मानजनक सेवा प्रवाह आवश्यक रहेको बताए । उनले संस्थाको नीति तथा नियमको पालना र कर्मचारीको जवाफदेहितालाई कार्यसंस्कृतिको महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा जोड दिए ।
कार्यशालामा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमबारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै विश्वराज पौडेलले एआईको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको छविमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए ।
कार्यशालामा कर्मचारीको नेतृत्व क्षमता, सिर्जनशीलता र समूहगत सहकार्य बढाउने उद्देश्यले विभिन्न गतिविधिसमेत सञ्चालन गरिएको थियो । सातै प्रदेशका कर्मचारीले नाटक प्रस्तुत गर्नुका साथै विभागीय प्रमुखसँग प्यानल छलफल र कर्मचारीबीच परीक्षा सञ्चालन गरिएको थियो ।
फुटसल, टेबल टेनिस र टग अफ वारलगायतका खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको थियो । विजयी कर्मचारी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन सहभागी कर्मचारीलाई कर्णाली चिसापानी भ्रमण गराइएको थियो । कम्पनीले कार्यशालाले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता तथा संस्थागत कार्यसंस्कृति सुधारमा सहयोग पुग्ने जनाएको छ ।