नेटिज्योति हाउसको आधारभूत पत्रकारिता तालिम मेलम्चीमा सुरु

22 June, 2026 63 Views
नेटिज्योति हाउसको आधारभूत पत्रकारिता तालिम मेलम्चीमा सुरु
63

सगुन बस्नेत, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ ।मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउस प्रा.लि.को आयोजनामा मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको सुरुवात भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाकी उपाध्यक्ष कान्ति न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न वडाका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

पानसमा बत्ती बालेर तालिमको उद्घाटन गर्दै महासचिव दाहालले पत्रकारिता पेसा आफैँमा राम्रो र मर्यादित पेसा भएको बताउनुभयो । यसलाई प्रयोग गर्न जान्नुपर्ने र यो पेसा जोखिमपूर्ण पनि छ भन्दै उहाँले भन्नुभयो, "पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनि हो । यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न मद्दत गर्छ ।"

नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्रबहादुर बस्नेतको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्लाका पूर्व अध्यक्ष एवम् प्रेस युनियन नेपाल बागमती प्रदेशका अध्यक्ष युवराज पुरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँले मेलम्ची नगरपालिकामा रहेका युवा–युवतीहरूलाई पढ्ने बित्तिकै विदेश जानुभन्दा पनि यहीँ बसेर काम गर्नुपर्छ, त्यसैले यो पत्रकारिता पेसामा लाग्न चाहनेहरूका लागि यो तालिम अति महत्त्वपूर्ण रहेको बताउनुभयो ।

विशेष अतिथि कान्ति न्यौपानेले पत्रकार, पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमका सभापतिका तर्फबाट बोल्दै नेत्रबहादुर बस्नेतले भन्नुभयो, "डिजिटल युगमा सूचना छिटो फैलिन्छ, तर सही सूचना प्रवाह अझै महत्त्वपूर्ण छ । विद्यार्थीलाई प्रारम्भिक चरणमै पत्रकारिताको ज्ञान दिन सके भविष्यका सक्षम सञ्चारकर्मी तयार गर्न सकिन्छ ।" यही उद्देश्यका साथ यो तालिमको आयोजना गरिएको र तालिम लिएकाहरूमध्ये इच्छुकलाई मिडिया हाउसमा रोजगारीको समेत अवसर दिने उहाँले बताउनुभयो ।

तीन दिनसम्म चल्ने उक्त तालिममा माध्यमिक शिक्षामा अध्ययनरत् विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ । विद्यार्थीहरूमा पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहबारे व्यावहारिक विकास गर्नु मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममार्फत युवापुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । उक्त तालिममा रामप्रसाद दाहाल, कान्ति न्यौपाने, युवराज पुरी, निशा देउजा र आइ सिंह तामाङ प्रशिक्षकका रूपमा रहनुभएको छ ।

स्थानीय समाज सेवी सागर श्रेष्ठले यसरी तालिम दिएर रोजगारीका लागि समेत अवसर प्रदान गर्न लागेकोमा आफूलाई खुसी लागेको बताउनुभएको छ ।

Related Post