काठमाडौं । चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ । पहिरो र सडक भासिएका कारण अवरुद्ध खण्डमा पुनर्निर्माण तथा सडक खुलाउने काम तीव्र पारिए पनि यातायात पूर्ण रूपमा सञ्चालन गर्न करिब ६ दिन लाग्ने सडक विभागले जनाएको छ ।
मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासा–कोरला खण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा आएको छ । तातोपानी क्षेत्रमा सडक कटान भएको ठाउँमा ब्याक कटिङ र टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गरिएको विभागले जनाएको छ ।
पोखरेबगर पुलको एप्रोच निर्माणको काम जारी छ । पोखरेबगर नजिकैको रातोपानी खण्डमा ट्र्याक खोलिएको छ भने कुनेटो क्षेत्रमा क्याकफिलिङको काम भइरहेको छ ।
रातोपानीका दुई स्थानमा सडक पूर्ण रूपमा भत्किएको छ भने भीरकाटे नजिक सडक पैदल हिँड्नसमेत नमिल्ने गरी क्षतिग्रस्त भएको विभागले जनाएको छ । बेगखोला नजिक करिब १ सय मिटर सडक भासिएको छ ।
बैसेरी क्षेत्रमा ठूलो पहिरोका कारण सडक अवरुद्ध छ । राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
विभागका अनुसार मुख्य कटान र पहिरोग्रस्त क्षेत्रमा आजदेखि थप काम अघि बढाइनेछ । सडकको बाँकी खण्ड खुलाउन आवश्यक संरचना निर्माण तथा पहिरो पन्छाउने कामलाई प्राथमिकतामा राखिएको छ ।