पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
कालिका इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेर माझठानाबाट कालिकातर्फ आउँदै गरेको बस ओख्लेको भिरबाट खसेको हो। दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।
दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी थिए। परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेका सबै विद्यार्थी कक्षा १० का रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सकिएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी छ।