काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरीका लागि सामान खरिद गर्दा अनियमितता भएको आशंका गर्दै छानबिन गर्न माग गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नको पनि छानबिन हुनुपर्ने बताएका हुन्।
सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे आवश्यक कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको बताए। तर, ती कागजात उपलब्ध भए कि भएनन् भन्नेबारे समितिमा स्पष्ट जानकारी आउनुपर्ने उनको भनाइ थियो।
उनले यहीबीच प्रहरीले करोडौँ रुपैयाँका सामान खरिदका लागि टेन्डर आह्वान गरेको भन्दै त्यसप्रति पनि प्रश्न उठाए। केही बिचौलियाले प्रहरी हेडक्वार्टरमा प्रभाव जमाएको दाबी गर्दै उनले यस विषयमा आफूले उठाएको प्रश्नमा अझै पनि अडिग रहेको बताए।
सुनारले आफ्नो भनाइबाट कसैको मानमर्दन भएको महसुस भए अदालत गएर मुद्दा हाल्नसमेत चुनौती दिए। आफूले अदालतमा गएर पनि आफ्ना भनाइको जवाफ दिन तयार रहेको उनको भनाइ थियो।
संसदीय समितिमा आएर एकअर्कासँग विवाद गर्नेभन्दा उठेका प्रश्नको तथ्य र प्रमाणका आधारमा जवाफ दिनुपर्ने सांसद सुनारले बताए। प्रहरी खरिद प्रक्रियामा कुनै अनियमितता भए त्यसको निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए।