काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवामा पेसागत सफलता हासिल गर्न नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले संविधान र प्रचलित कानुनको पालना गर्दै निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान, सीप र अनुशासनलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्न आग्रह गरे।
उनले पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, कानुन, नियम, कार्यविधि तथा मापदण्डको पालना गर्नु र गराउनु प्रहरीको जिम्मेवारी भएको बताए। जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेसागत सफलताको महत्त्वपूर्ण आधार रहेको उनको भनाइ थियो।
‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु र गराउनु पेसागत सफलता हासिल गर्न महत्त्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री शाहले भने।
नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रता तथा अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले प्रहरीलाई कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने। प्रहरीको कार्यसम्पादन नागरिकका भावना र अपेक्षाअनुरूप हुनुपर्नेमा पनि उनले जोड दिए।
प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनभित्र सहकार्य, सहयोग र संस्थागत प्रतिबद्धता आवश्यक रहेको बताए। सूचना प्रविधिको उचित प्रयोगले प्रहरीको काम छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो। प्रविधिको प्रयोगबाट अपराध अनुसन्धानलाई तीव्र बनाउनुका साथै घटनाको समयमै नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्ने उनले बताए।
अपराध अनुसन्धान निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसका लागि सूचना प्रविधिको सही सदुपयोग गर्न आग्रह गरे। अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी नेतृत्व र प्रशिक्षणको पनि महत्त्वपूर्ण भूमिका रहने उनले बताए।
सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनुका साथै आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।
समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।