काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियाबाट बाहिर रहेका तथा निर्वाचनमा पराजित हुने नेताकार्यकर्तालाई समेत समेटेर पार्टीलाई अघि बढाउने बताएका छन्।
महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कांग्रेसभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्दै सबै पक्षलाई एकताबद्ध बनाएर अघि बढ्ने बताएका हुन्।
महाधिवेशनको प्रक्रियामा सहभागी नभएको देउवा पक्षलाई लक्षित गर्दै उनले पार्टीका नेताहरूलाई समेट्ने प्रयास गरिने बताए। तर, कसैले छुट्टै पार्टी गठन गरेर अघि बढ्ने निर्णय गरे त्यो उनीहरूको व्यक्तिगत छनोट हुने उनको भनाइ छ।
‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर बाहिर हुनुहुन्छ। उहाँहरूलाई समेट्ने प्रयास गर्छौँ। कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौँ,’ थापाले भने।
उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेका र पराजित भएका नेताहरूलाई पनि उचित जिम्मेवारी दिएर पार्टीमा सक्रिय बनाइराख्ने बताए। सबै नेताकार्यकर्ता पार्टीका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले कसैलाई केन्द्रीय समितिमा समेट्ने र कसैलाई अन्य जिम्मेवारी दिने गरी अघि बढ्ने धारणा राखे।
थापाले आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएको अनुभव सुनाउँदै हारलाई अन्तिम नतिजाका रूपमा लिन नहुने बताए। एकपटक कम मत ल्याएर पराजित भए पनि पार्टीमै रहेर काम गरेको र अर्को पटक धेरै मतसहित निर्वाचित भएको उनले स्मरण गरे।
निर्वाचनमा हुने हारजितले राजनीतिक सम्बन्ध र निर्णय नै बदलिनुपर्ने भन्ने मान्यता गलत रहेको उनको भनाइ छ। प्रतिस्पर्धाको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै थापाले विजय र पराजयकै आधारमा राजनीतिक व्यवहार परिवर्तन गर्नु उचित नहुने धारणा व्यक्त गरे।
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्न असन्तुष्ट पक्ष र निर्वाचनमा पराजित नेताकार्यकर्तालाई समेत समेट्नुपर्ने उनको अभिव्यक्तिले देखाएको छ।