काठमाडौं । सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा चार वटा विधेयक प्रस्तुत हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्र तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम पनि छ।
संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।
कानुनमन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछिन्।
मन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरी पारित गर्न प्रस्ताव गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।