काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग आज सिंहदरबारमा पहिलोपटक वान–टु–वान भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको छ। यस्तै, दुई देशबीचको विकास साझेदारी र आपसी हितका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ।
पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत रूपमा छुट्टाछुट्टै भेट नगर्ने आफ्नो पुरानो अभ्यास परिवर्तन गर्दै भारतीय राजदूतसँग पहिलो व्यक्तिगत द्विपक्षीय भेट गरेका हुन्।
प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तोसमेत आएको छ। तर, हालसम्म प्रधानमन्त्री शाहले विदेश भ्रमणको तयारी भने गरेका छैनन्।
आजको भेटलाई प्रधानमन्त्री शाह र विदेशी कूटनीतिज्ञबीचको पहिलो वान–टु–वान भेटका रूपमा पनि हेरिएको छ।