काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेको करिब चार महिनापछि पहिलोपटक दुवै छिमेकी मुलुकका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेका हुन्। चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका शाहले यसअघि चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहको भारत र चीनका राजदूतसँग हुन लागेको छुट्टाछुट्टै भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ। पछिल्लो समय प्रधानमन्त्री शाहले केही विदेशी उच्च अधिकारीसँग भेटवार्ता नगरेका कारण पनि सोमबारको भेटवार्ता कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेटवार्ता गर्न प्रधानमन्त्री शाहले अस्वीकार गरेका थिए। यस्तै, भेटवार्ताको समय तय हुन नसक्दा भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणसमेत अन्तिम समयमा रद्द भएको थियो।
अब भने प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग लगातार भेटवार्ता गर्न लागेकाले यी भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा समसामयिक कूटनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।