काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र (बालेन) शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
जनरल सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेट शिष्टाचारमा केन्द्रित थियो। यद्यपि, नेपाल–भारतबीचको सुरक्षा तथा सैन्य सम्बन्धका दृष्टिले भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ।
सोमबार नै जनरल सेठले प्रधान सेनापति अशोकराज सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। उनको नेपाल भ्रमणलाई दुई देशबीचको परम्परागत रक्षा तथा सैन्य सम्बन्धलाई निरन्तरता दिने भ्रमणका रूपमा हेरिएको छ।