नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्।
दाङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले, सुरक्षा निकायले बल प्रयोग गर्दा राजनीतिक नेतृत्वले जिम्मा लिनुपर्छ भन्ने मान्यता राख्ने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताए।
पोखरेलले, यदि सरकारले सुरक्षा निकायको बल प्रयोगका लागि राजनीतिक नेतृत्वलाई नै दोषी मान्ने हो भने प्रधानमन्त्री र गृहमन्त्रीले या त सार्वजनिक रूपमा माफी माग्नुपर्ने, नभए पदबाट राजीनामा दिएर कानुनी प्रक्रिया अघि बढ्ने बाटो खुला गर्नुपर्ने धारणा राखे।
उनले जेनजी आन्दोलनपछि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको स्मरण गराउँदै, पर्याप्त प्रमाण नहुँदा मुद्दासमेत दर्ता हुन नसकेको दाबी गरे।
त्यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेललाई पनि सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरेर पछि प्रमाण नपुगेपछि रिहा गरिएको उल्लेख गर्दै उनले वर्तमान सरकार प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए।
पोखरेलले सुनसरी घटनामा हालसम्म चार जनाको ज्यान गइसकेको उल्लेख गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले त्यसको जिम्मेवारी लिने कि नलिने भन्ने प्रश्नसमेत उठाएका छन्।