प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन सांसद निश्कल राईको माग

04 August, 2026 26 Views
प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन सांसद निश्कल राईको माग
26

काठमाडौं। प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन र नेपाली जनतासँग क्षमा माग्न नेपाली कांग्रेसका सांसद निश्कल राईले माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेठ अधिवेशनका क्रममा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपालीको आत्मसम्मानमा गम्भीर चोट पुगेको बताए।

उनले प्रधानमन्त्रीबाट नेपालले नै भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति आउनु सामान्य राजनीतिक टिप्पणी नभएको उल्लेख गर्दै त्यस्तो भनाइ तत्काल फिर्ता लिनुपर्ने माग गरे। साथै, नेपाली जनतासँग सार्वजनिक रूपमा क्षमा माग्न र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने उनको भनाइ थियो।

सांसद राईले सुनसरी घटनापछि उत्पन्न तनाव समाधानका लागि सर्वदलीय बैठक आयोजना गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई धन्यवाद दिँदै यस्तो संवेदनशील समयमा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिनु सकारात्मक कदम भएको बताए।

धार्मिक तथा साम्प्रदायिक तनाव फैलिन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा र नागरिक समाजले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरे। समयमै गरिएको संवाद र संयमताले ठूलो दुर्घटना टार्न सहयोग पुगेको उनको भनाइ थियो।

राईले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

त्यसैगरी, सरकार र आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि उनले प्रश्न उठाए। सामाजिक सद्भाव, नागरिकता, धार्मिक आस्था र आयोग गठनजस्ता संवेदनशील विषयमा सबै पक्षलाई समेटेर निर्णय गर्नुपर्नेमा जोड दिँदै सरकारले कुनै पनि समुदायलाई उपेक्षित महसुस हुन नदिई सबै नागरिकको साझा अभिभावकका रूपमा भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

Related Post