काठमाडौं । कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिए पनि त्यही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको भन्दै प्रधानमन्त्री र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भए/नभएकोबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। उनले अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको दाबी गर्दै मुस्ताङ पुगेका अमेरिकी प्रतिनिधिको पहिचान, पद, भ्रमणको उद्देश्य र प्रधानमन्त्रीसँग कुनै छलफल भएको भए त्यसको विवरण जनतासमक्ष सार्वजनिक गर्न माग गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्यबारे सरकारले संसद् र जनतालाई पर्याप्त जानकारी नदिएको बताए।
उनले प्रधानमन्त्रीको भ्रमणलाई निजी भनिए पनि सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको विषय बाहिर आएको बताए। यसले भ्रमणको उद्देश्य र त्यस क्रममा भएका सम्भावित भेटघाटबारे प्रश्न उठाएको उनको भनाइ थियो।
शाहीले अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको आफूले जानकारी पाएको दाबी गर्दै अमेरिकी प्रतिनिधिहरू मुस्ताङ पुगेको विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए।
उनले सरकारसँग प्रश्न गर्दै भने, ‘अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?’
प्रधानमन्त्रीको भ्रमण सार्वजनिक सरोकारको विषय भएकाले यसबारे तथ्य र वास्तविक जानकारी जनतासमक्ष ल्याउनुपर्ने शाहीको माग छ।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर यसअघि पनि प्रतिनिधिसभामा प्रश्न उठेको थियो। सांसदहरूले प्रधानमन्त्रीले भ्रमणको उद्देश्य, भेटघाट र पदीय प्रोटोकलका विषयमा संसद्लाई जानकारी गराउनुपर्ने बताएका छन्।