काठमाडौँ, २० जेठ
नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति फिर्ता लिन माग गर्दै विपक्षी दलका सांसदहरूले संसद् अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक जेठ २६ गते मङ्गलबार अपराह्न १:१५ बजे बस्ने गरी स्थगित भएको छ। बुधबार बैठक सुरु हुनेबित्तिकै सांसदहरूले उठेर विरोध जनाएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक साताका लागि स्थगित गर्नुभएको हो।
यसअघि सोमबार र मङ्गलबारको बैठक पनि विपक्षी दलहरूको यही माग र नाराबाजीका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। बुधबारको बैठकमा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाले विशेष समयमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, तथ्यहीन र अपरिपक्व भएको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीको यस्तो हलुका टिप्पणीले छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्धमा नकारात्मक असर पर्ने चेतावनी दिँदै प्रधानमन्त्रीले संसद्मा माफी मागेर भनाइ फिर्ता लिनुपर्ने अडान राख्नुभयो। "यदि नेपालले साँच्चै भारतीय भूमि मिचेको तथ्य छ भने प्रधानमन्त्रीले संसद्मा प्रमाण पेस गर्नुपर्छ, नत्र राष्ट्रघाती बयान फिर्ता हुनुपर्छ," थापाले भन्नुभयो।
सांसदहरूले निरन्तर आफ्नो सिटबाट उठेर विरोध जारी राखेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकलाई बिजनेश अगाडि बढाउन दिन पटक-पटक आग्रह गर्नुभएको थियो। उहाँले राष्ट्रिय सभाले प्रतिनिधिसभालाई पनि सकारात्मक सन्देश दिनुपर्ने भन्दै आसन ग्रहण गर्न आग्रह गरे पनि सांसदहरू नसुनिकनै उभिइरहेपछि बैठक स्थगितको घोषणा गरिएको हो।
बैठक अवरुद्ध हुँदा बुधबार तय गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सामान्य छलफल र प्रतिनिधिसभाबाट आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्ताव जस्ता महत्त्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन्।