काठमाडौँ, २४ जेठ २०८३ | संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठक बिनाकुनै सहमति टुङ्गिएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमासोमबार बिहान बसेको बैठकमा मुख्य विपक्षी दल नेकपा एमालेले नेपाल-भारत सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा संसद्मै जवाफ आउनुपर्ने पुरानो अडान दोहोर्याएपछि बैठक निष्कर्षविहीन बनेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्को सार्वभौम रोष्ट्रममा उभिएर स्पष्ट जवाफ नदिएसम्म विरोध र संसद् अवरोध जारी रहने स्पष्ट पार्नुभयो।
रास्वपाका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको उक्त बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमण र त्यहाँ भएका राजनीतिक भेटघाटका बारेमा र
बजेटमाथिको छलफल प्रभावित भइरहेको अवस्थामा संसद्को अवरोध हटाउनेबारे साझा सहमति खोज्ने प्रयास गरिएको विषयमा छलफल भएको थियो।
एमाले प्रमुख सचेतक ऐन महरका अनुसार दुवै एजेन्डामा घनिभूत छलफल भए पनि रास्वपाको तर्फबाट स्पष्ट दृष्टिकोण आउन सकेन। महरले भने"सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभयो। हामीले त्यसमा प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन र सीमा विवादबारे प्रश्न उठायौँ। अघिल्लो दिन प्रधानमन्त्रीले नेपाल-भारत सीमाबारे दिएको गैरजिम्मेवार अभिव्यक्तिको विषयमा भारतमा कुरा भयो कि भएन भनी सोध्यौँ, तर उहाँबाट स्पष्ट जवाफ आएन।"
महरले संसद् अवरोध गर्ने आफूहरूको रहर नभएको प्रस्ट पार्दै थप्नुभयो, "प्रधानमन्त्रीले संसद्मा आएर कि त आफ्नो सीमासम्बन्धी अभिव्यक्तिको पुष्टि गर्नुपर्छ कि फिर्ता लिनुपर्छ। यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग थप छलफल गर्नुपर्ने बताएकाले आजको बैठकमा सहमति हुन सकेन।"
राजनीतिक दलहरूबिच सहमति जुट्न नसक्दा सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समेत बस्न नसकी अन्योलमा परेको छ।