काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले लगानीको वास्तविक स्रोत पहिचान नगरी सरकारले ठूलो आर्थिक लक्ष्य मात्र अघि सारेको टिप्पणी गरेका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौंमा आयोजना गरेको ‘एडुक्लेभ ४.०’ अन्तर्गतको ‘पोलिसी डायलग’मा बोल्दै पाण्डेले लगानीको ठोस आधार नखोजेसम्म नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य पूरा हुन कठिन रहेको बताएका हुन्।
पाण्डेले देशको आर्थिक विकास सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै जनता र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार सरकारले विकासका लागि आवश्यक नीति निर्माण गर्नुका साथै लगानीमैत्री वातावरण तयार गर्नुपर्छ।
निजी क्षेत्रलाई काम गर्न अनावश्यक रूपमा जटिलता सिर्जना गर्नेभन्दा नीतिगत सहजता र लगानीको वातावरण सुधार गर्न सरकार केन्द्रित हुनुपर्नेमा पाण्डेले जोड दिए। उनले लगानी कहाँबाट ल्याउने र त्यसको स्रोत के हुने भन्ने विषय स्पष्ट पारेर मात्र ठूला आर्थिक लक्ष्य अघि बढाउनुपर्ने धारणा राखे।