काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमै रोकिएका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत अत्यधिक सवारी चाप बढेपछि यातायात सञ्चालन प्रभावित भएको हो।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। तर, उक्त सडकमा पनि सवारीसाधनको चाप बढेपछि नयाँ बसपार्कबाट छुट्ने बसलाई रोकिएको छ।
दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू बसपार्कमै रोकिँदा मर्कामा परेका छन्। अग्रिम टिकट काटेर यात्रा गर्न पुगेका यात्रुसमेत गन्तव्यमा कहिले पुग्ने भन्ने अन्योलमा छन्।
यसैबीच, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्म ठूला सवारीसाधनसमेत सञ्चालन गर्न मिल्ने गरी सडक मर्मत गरिसक्ने जानकारी दिएकी छन्। सडक खुल्ने समय र अवस्थाबारे यात्रुले सम्बन्धित यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग जानकारी लिन आग्रह गरिएको छ।