राजु पाण्डेलाई प्रधानमन्त्रीको नाम लिएर विवाद नगर्न निर्देशन दिएको दाबी

05 August, 2026 19 Views
राजु पाण्डेलाई प्रधानमन्त्रीको नाम लिएर विवाद नगर्न निर्देशन दिएको दाबी
19

काठमाडौं। गोकर्ण वन क्षेत्रमा नेपाली सेनाका एक कप्तानसँग भएको विवादपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले काठमाडौं–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेलाई बोलाएर सचेत गराएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीको नाम लिएर कुनै पनि विवादमा नपर्न र सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन उनलाई निर्देशन दिइएको पनि स्रोतको दाबी छ।

स्रोतका अनुसार पाण्डे बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यहाँ सचिवालयका सदस्यहरूले घटनाबारे छलफल गर्दै भविष्यमा प्रधानमन्त्रीको नाम जोडेर कुनै पनि गतिविधि नगर्न र जिम्मेवार ढंगले अभिव्यक्ति दिन आग्रह गरेका थिए।

केही दिनअघि गोकर्ण वन क्षेत्रमा पर्खाल हटाउन डोजर चलाउने क्रममा सांसद पाण्डे र नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठबीच विवाद भएको थियो। उक्त घटनाको भिडियो सार्वजनिक भएपछि त्यसले व्यापक चर्चा पाएको थियो। सो घटनाप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको पनि स्रोतले जनाएको छ।

स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयकै सुझावमा सांसद पाण्डेले स्पष्टीकरण वक्तव्य जारी गरेका थिए। आफ्नो वक्तव्यमा उनले नेपाली सेनासँगको समन्वयमै पर्खालमा डोजर चलाइएको दाबी गर्दै आफूले कुनै पनि कानुनविपरीत काम नगरेको बताएका छन्।

Related Post