काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले जीविकोपार्जन गर्न पाउनुपर्ने माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा विभिन्न सार्वजनिक स्थानहरूमा काम गर्न नदिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा दृष्टिविहीन नागरिक सुदीप ओलीले राज्यले दृष्टिविहीनहरूको गाँस, बास र कपासको सुनिश्चितता गर्न नसकेको आरोप लगाए। उनले जीविकोपार्जनका लागि सडकमा सानो व्यापार गर्न खोज्दा पनि अवरोध हुने गरेको गुनासो गरे। उनका अनुसार नगर प्रहरीले सडकबाट हटाउने, दिनभर होल्डिङ सेन्टरमा राख्ने तथा महिलामाथि समेत अभद्र व्यवहार गर्ने गरेका छन्।
प्रदर्शनकारीहरूले दृष्टिविहीन नागरिकलाई सम्मानजनक र मर्यादित रूपमा जीविकोपार्जन गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने तथा योग्यता र क्षमताअनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। उनीहरूले राज्यले रोजगारी उपलब्ध गराउन नसके बेरोजगार भत्तास्वरूप प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेका छन्।