राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादव

राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादव
94

मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ ।

विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि  बैठक सुरु हुन सकेको छैन । प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नगएपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासका मत नपाउने निश्चित जस्तै छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एकजना निलम्बित छन् । एमालेको साथमा एक–एक सिटको नेपाल संघीय समाजवादी र राप्रपा छन् ।

पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएर वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद नै धरापमा छ । उनको सांसद पद खारेज गर्न राप्रपाले आइतबार नै प्रदेश सभा सचिवालयलाई पत्राचार गरिसकेको छ । सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् । गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।

Related Post